मोरङ । केबलकार खारेजी संघर्षरत समूह र ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलीय पार्टीहरूले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ । दमकमा बिहानै ३ जना बन्दकर्ता पक्राउ परेका छन् भने बन्दकर्ता र प्रहरीबिच घम्साघम्सी भएको थियो । त्यस्तै झापा, ईटहरी, बिराटनगर लगायतका शहरहरुमा बन्दकर्ताले यातायात बन्द गर्दै हिडिरहेका थिए ।
मुकुम्लुङ अन्तरदलीय राजनीतिक पार्टीले माघ २०(२१ गते अरुणपूर्व नौ जिल्ला ९ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा० बन्दको आह्वान गरेको छ। बन्दका कारण कोशी पहाडका जिल्लामा सवारी साधन ठप्प बनेका छन् । कोशी राजमार्ग धरानबाट धनकुटा हुँदै तेह्रथुम र संखुवासभा जाने तथा पहाडी क्षेत्रबाट तराई जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन्।
त्यस्तै, तमोर करीडोर ठप्प हुँदा धनकुटाको गढतिर क्षेत्र तथा ताप्लेजुङ, पाँचथरलगायतको स्थानमा सञ्चालन हुने सवारीसाधन सञ्चालन भएका छैनन्। धरानबाटै सवारीसाधन नआएका कारण यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ। प्रहरीका अनुसार कोशी प्रदेशको पश्चिमी जिल्ला उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु तर्फ यातायात सञ्चालन भए पनि कोशी प्रदेशका पूर्वी जिल्लाहरूमा सवारी सञ्चालनमा अवरोध भइरहेको अवस्था रहेको छ । जहाँ प्रहरीले सहजीकरण गरिरहेको अवस्था छ ।
आफूहरूको धार्मिक आस्थामा खलल पुर्याउने गरी व्यापारिक घरानालाई केबुलकार बनाउन दिएको भन्दै विरोध गर्दै आएका उनीहरू केही दिनअघि प्रहरीसँगको झडपमा ३ जना गोली लागी गम्भीर घाइते भएपछि थप आन्दोलनमा उत्रिएका हुन्। केबुलकार निर्माण रोक्नुपर्ने, प्रहरीले गोली हानी घाइते बनाएकाहरूको आजीवन जीवन निर्वाहको व्यवस्था गर्नुपर्ने र यसअघ गिरफ्तारीमा परेकालाई विनाशर्त रिहाइ गर्नुपर्नेमाग राखी उनीहरूले दुई दिन बन्द आह्वान गरेका हुन् । गृह मन्त्रालयले पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिइसकेको छ।