काठमाडौं । संसद्को दुवै सदनको हिउँदे अधिवेशन सुरु भएको छ । दिउँसो १ बजेबाट संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैको बैठक सुरु भएको हो । आजको प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । सङ्घीय संसद्का दुवै सदनमा गरी अहिले दुई दर्जन विधेयक विचाराधीन छन् । अधिकांश विधेयक समितिमा दफावार छलफलका क्रममा छन् ।
संसद् सचिवालयका अनुसार शुक्रबार अधिवेशन प्रारम्भको राष्ट्रपति कार्यालयको पत्र वाचन गरिने छ । यस्तै प्रतिनिधि सभा नियमावली–२०७९ को नियम १० अनुसार सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि अध्यक्ष मण्डलको मनोनयन हुने छ । दलीय परामर्शमा अधिवेशनैपिच्छे अध्यक्ष मण्डलमा नाम मनोनयन गर्ने अभ्यास छ ।
यस्तै बैठकमा अधिवेशन चालु नरहेको बेला सरकारको सिफारिसमा जारी भएका अध्यादेश पेस हुने छन् । यसबिचमा छ वटा अध्यादेश जारी भएका छन् । सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, निजीकरण ९पहिलो संशोधन० अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश सभामा पेस हुने छन् ।
यस्तै भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि सभामा पेस हुने छ । सहकारीबाहेकका पाँच अध्यादेश सरकारले एकैपटक सिफारिस गरेको थियो । सिफारिस अनुसारै राष्ट्रपतिबाट अध्यादेश जारी भएका थिए । बैठकमा दुई शोक प्रस्ताव पनि पेस हुने छन् ।