काठमाडौँ । सरकारको गतिविधिमा साझा धारणा बनाउन मधेश केन्द्रीत आठ दलहरुले कार्यदल गठन गरेका छन् । आज ( बिहीबार ) सिंहदरबारमा बसेको बैठकले सबै दलबाट १र१ जना हुने गरी कार्यदल बनाएको हो । मधेस केन्द्रित राजनीतिक दलहरूको सहकार्य र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय निर्णय गरेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
कार्यदलमा जसपा नेपालबाट मनिष सुमन, लोसपाबाट लक्ष्मणलाल कर्ण, जनमतबाट डा। शरद सिंह यादव, जसपाबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट डा। शिवजि यादव र तमलोपाबाट ब्रजेस सिंह रहेका छन् भने राजेन्द्र महत्तोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति पार्टीबाट एक सदस्य रहने प्रवक्ता सुमनले जानकारी दिए ।
कार्यदलले आगामी दिनमा दस्ताबेज लेख्ने, आगामी बैठकको संयोजन गर्ने उनले बताए । बैठकमा अध्यादेशका बारेमा छलफल चलेको र भूमिसम्बन्धी अध्यादेशप्रति ध्यानाकर्षण भएको प्रवक्ता सुमनले जानकारी दिए । सिंहदरबारमा बसेको बैठकमा मधेस केन्द्रित आठ वटा दलको सहभागिता रहेको छ । बैठक उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको आह्वानमा बसेको हो ।
बैठकमा जसपाबाट रेणु यादव, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव, राम कुमार शर्मा र मनिष सुमन, नागरिक उन्मुक्तिबाट लालबिर चौधरी र गंगा चौधरी, लोसपाबाट सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट राम नरेश राय, केशव झा र सन्तोष मेहता, जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी, शिवजि यादव र सब्बीर हुसैन तथा तमलोपाबाट वृषेश चन्द्र लाल र विजय सिंह सहभागी थिए ।