काठमाण्डौं । सोनाम ल्होछारको अवसर पारेर तामाङ सगरमाथा आरोही संघले सगरमाथा आरोहीहरूलाई सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा संघले सगरमाथा आरोही चतुरकुमार तामाङ, जेस्मान तामाङ र तुलबहादुर तामाङलाई सम्मान गरेको हो ।
पूर्वऊर्जा तथा जलश्रोत राज्यमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य सूर्यमान दोङको प्रमुख आतिथ्यता आयोजना गरिएको कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषदका संस्थापक परशुराम तामाङ, पूर्वकृषि राज्यमन्त्री राधिका तामाङलगायतको उपस्थिति थियो । तामाङ आरोहीलाई एकतावद्ध गर्ने उदाहरणीय काम संस्थाले गरेको प्रतिनिधि सभा सदस्य दोङले बताए । आरोहीको पीरपर्का बुझ्न स्थापना गरिएको संस्थालाई सबैले सहयोग गर्नुपर्नेमा विशेष अतिथि पर्शुराम तामाङले जोड दिए ।
कार्यक्रममा संघकी अध्यक्ष शर्मिला स्याङतान ९लामा०ले नेपालको आरोहण क्षेत्रलाई समृद्ध, व्यवस्थित तथा दिगो बनाउन भूमिका खेल्ने बताइन् । संघले हिमाल आरोहणको दौरान दुर्घटना भई घाइते भएका र मृत्यु भएका आरोहीका परिवारलाई सहयोग गर्दै आएको अध्यक्ष लामाको भनाइ छ ।
कार्यक्रममा इन्दिरा गोले, सुभाष तामाङ, लक्ष्मी स्याङ्तान, जीवन बोम्जन लगायत कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए । सोनाम ल्होछार पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले पर्वतारोहीहरुलाई राज्यले सम्मान गर्न नसकेको र उनिहरुका समस्याहरुलाई सम्त्रोधन नगरेको गुनासो गरेका थिए ।