कास्की । कास्कीको पोखरास्थित सुर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालतको आदेशविरुद्ध रास्वपाका सभापति रवि लामिछाने उच्च अदालत पोखरा पुगेका छन् । उनले आज जिल्ला अदालतको आदेश बदर गर्न माग गरेका छन् । कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी उनले उच्चमा सोमबार निवेदन दिएका हुन् ।
पुस २५ गते जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएका थिए । धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले रविलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको थियो । सो निवेदनमा पोखराले प्रतिवेदन माग गरेको छ ।
कास्की अदालतमा रविउपर सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा अभियोगमा मुद्दा चलिरहेको छ। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सुरूमा रविविरूद्ध मुद्दा दायर गरिएको थिएन। पछि पूरक अभियोगपत्र दर्ता गर्दा उनी प्रतिवादी कायम भएका थिए।
रवि काठमाडौंको स्वर्णलक्ष्मी र रुपन्देहीको सुप्रिम सहकारी ठगीमा पनि मुछिएका छन् । काठमाडौंबाट ६० लाखमा छुटेका उनी आइतबार रुपन्देहीबाट १ करोड धरौटी तिरेर छुटेका थिए । एक करोड धरौटी मागको रवि तथा रास्वपा नेता कार्यकर्ताले निकै ठूलो बिरोध गरेका थिए । तर धरौटी बुझाएर छुट्ने कि जेल बस्ने भन्ने आदेश बमोजिक रविले बैक ग्यारेन्टी मार्फत धरौटी बुझाएर छुटेका थिए ।
आईतवार बुटवल वाट धरौटी बुझाएर छुटेका रास्वपा सभापती रविले जिल्ला अदालत कास्कीको ६५ लाख धरौटी बिरुद्ध उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका हुन् ।