काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र ( बालेन ) शाहले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले यो अध्यादेश कार्यकर्ता पोस्नका लागि ल्याइएको आरोप लगाएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब खोला मात्र हैन टुँडिखेल, खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेको कार्यकर्ताहरूलाई ।’ राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश बुधबार जारी गरेका छन् । यसअघि उनले यो अध्यादेश अध्ययनका लागि भन्दै केही समय रोकेर राखेका थिए ।
पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा ( १० ) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यो अध्यादेशका बिरुद्ध यसअघि नेकपा एमालेवाट निष्कासित नेता डा. भिम रावलले पनि चर्को आलोचना गरेका थिए । लामो समयदेखि सरकार बिरुद्ध सामाजिक संजालमा कुनै टिप्पणी नगरेका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री ओली र काँग्रेस सभापती शेर बहादुर देउवाको फोटो राखेर असन्तुष्टी ब्यक्त गरेका हुन् ।