काठमाण्डौं । संसदमा रहेका बिपक्षी दलहरूले संसद् अधिवेशन बोलाउन दबाब दिने निर्णय गरेका छन् । बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको बैठकले अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसद अधिवेशन बोलाउन दबाब सिर्जना गर्ने निर्णय गरेको हो ।
उनिहरुले बिपक्षी दलहरु सबै मिलेर संयुक्त वक्तव्य निकालेर दबाब दिने निर्णय गरेका हुन् । । सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णयसमेत बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।
तत्काल अधिवेशन नबोलाएर विशेष अधिवेशनको प्रक्रियामा जाने निर्णय पनि बैठकले गरेको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पत्रकारहरूसँग बताए । संसद्को एक चौथाइ सदस्यले हस्ताक्षर गरेर माग गरेमा अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, आमजनता पार्टी, नेपाल समाजवादी पार्टीलगायत सहभागी भएका थिए ।