रुपन्देही । बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ संकलन भएको छ। आर्थिक वर्ष २०८१र०८२ अन्तर्गत दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
पुस १८ गतेदेखि २३ गतेसम्म ५ दिनसम्म लगाएर दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई ( सिद्धिचरण ) ले बताए । उनले स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरूको उपस्थितिमा दानपेटिका खोली गणना गर्ने गरिएको बताए । दानपेटिकामा संकलित दानलाई सिसिटिभी क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारीहरू खटाएर गणनाको व्यवस्था मिलाइएको थियो ।
मायादेवी मन्दिरको अवलोकन गर्ने तीर्थयात्रुहरुले श्रद्धाले दान चढाउँछन् । मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको छ । दान पेटिकामा संकलित दान पारदर्शी बनाउने गरी गणनाको व्यवस्था मिलाइएको छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेको विकास कोषले जनाएको छ ।