धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका– ५ कृष्णभिरस्थित पृथ्वी लोकमार्गमा आइतबार बिहान दुर्घटनामा परेको एनएल–०२ एल–३९०७ नम्बरको भारतीय ग्यास बुलेटमा रहेका चालक तथा सहचालकको खोजीकार्यमा गोताखोरसहितको सशस्त्र प्रहरी परिचालन भएको छ।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट गति अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको हो।सडकबाट तल खसेको ग्यास बुलेटको अगाडिको केही भाग भीरमा अड्किएको छ भने पछाडिको भाग त्रिशूली नदीमा डुबेको अवस्थामा रहेको धादिङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिए ।
ग्यास बुलेट दुर्घटना क्षेत्र वरपरका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपत् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अश्विनकुमार गुरुङको कमान्डमा गोताखोरसहित विपत् व्यवस्थापन तालिमप्राप्त सुरक्षा फौज परिचालन गरिएको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।